काठमाडौं– लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सवा एक अर्बबढी रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । संस्थाहरुले आफ्ना कर्जालाई सही तरिकाले प्रयोग गरी ब्याज आम्दानी बढाएपछि संस्थाहरुले मुनाफा बढाएका हुन् । चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ५० वटा लघुवित्तहरुले एक अर्ब २५ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको मुनाफा ६२ प्रतिशतले बृद्धि भएको छ । गत आवमा लघुवित्त संस्थाहरुले ७७ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।
समीक्षा अवधिमा सञ्चालित लघुवित्तहरुमध्ये १९ वटा संस्थाको मुनाफा बढेको छ भने ८ वटा संस्थाको मुनाफा घटेको छ । साथै, १६ वटा लघुवित्त संस्थाहरुको मुनाफा ऋणात्मक रहेको छ । यस अवधिमा महुली लघुवित्तले सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले खराव कर्जालाई न्युनिकरण र ब्याज आम्दानी बृद्धि गरेसँगै २७९५ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको् छ । तीन महिनामा महुली लघुवित्तको मुनाफा गत आवको तुलनामा २७९५ प्रतिशतले बृद्धि भएर एक करोड ५५ लाख रुपैयाँबाट ४४ करोड ९८ लाख रुपैयाँ रहेको छ ।