काठमाडौं : जेनजी आन्दोलनपछि ऋणीहरूले किस्ता र ब्याज तिर्न नसक्दा देशभरका बैंकहरूको निष्क्रिय कर्जा (एनपीए) तीव्र रूपमा बढेको छ। तर, यस्तै कठिन समयमा पनि बैंकमा निक्षेप बढ्दै जानु बैंकरहरूका लागि राहतको विषय बनेको छ। निक्षेपको निरन्तर वृद्धि र घट्दो ब्याजदरका कारण ऋणीहरूलाई तत्काल सहजता मिलेको बैंकरहरूको बुझाइ छ।
प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरका अनुसार निरन्तर निक्षेप बढ्नुले बैंकहरूलाई ब्याजदर घटाउन मद्दत गरेको छ, जसले ऋणीहरूलाई असहज अवस्थामा पनि टिकाइराख्न सहयोग पुर्याएको हो। उनले भने, “यदि निक्षेप नबढेको भए ब्याजदर बढेर ऋणीहरूलाई बच्नै नसक्ने अवस्था आउथ्यो।”
बैंकरहरूका अनुसार लामो समयदेखि समष्टिगत माग घटेकाले व्यवसायिक नाफा घटेको र त्यसकै कारण ऋण तिर्न समस्या आएको हो। जेनजी आन्दोलनपछि त तिर्न सक्ने ऋणीहरूले पनि सावाँ ब्याज भुक्तानी नगरी बस्ने प्रवृत्ति देखिएको बताइन्छ।
यस्तो अवस्थामा निक्षेपमा निरन्तर वृद्धि हुँदा ब्याजदर तल्लो विन्दुमा झरेको छ। बैंकरहरूको विश्वास छ कि दोस्रो त्रैमासदेखि ऋणीहरूले किस्ता र ब्याज बुझाउन सहज हुनेछ। राष्ट्र बैंकले आन्दोलनमा प्रभावित उद्यमीहरूलाई राहत उपलब्ध गराएको र ब्याजदर घटेसँगै बैंकिङ प्रणालीमा क्रमशः सुधार आउने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकका तथ्यांक अनुसार गत भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थासँग ७३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप थियो, जुन हाल बढेर ७४ खर्ब ७९ अर्ब पुगेको छ। डेढ महिनामा करिब १ खर्ब ४८ अर्ब निक्षेप बढ्नुले निक्षेप मासिक १ खर्बका दरले बढिरहेको देखाउँछ।
बैंकरहरूले यो वृद्धिको मुख्य कारण बढ्दो रेमिट्यान्स, घट्दो उपभोग र नगद बैंकमा फर्किनु रहेको बताएका छन्। जेनजी आन्दोलनका क्रममा घरघरमा राखिएको नगद जलेका घटनाले मानिसहरूलाई डराएको र त्यसपछि बैंकिङ प्रणालीमा पैसा जम्मा गर्ने प्रवृत्ति बढेको अनुमान पनि गरिएको छ।
राष्ट्र बैंकका अधिकारीहरूले पनि हाल अराजकता बढ्ने जोखिम घटेकाले मानिसहरू सुरक्षित विकल्पका रूपमा बैंकमा पैसा राख्न थालेका बताएका छन्। खुला बजार कारोबारमार्फत लामो समयसम्म ठूलो परिमाणको तरलता सोस्न नसक्ने राष्ट्र बैंकको धारणा सार्वजनिक भएपछि, बैंकहरूले पनि ब्याजदरलाई तल्लो स्तरमा झार्ने रणनीति लिएको जनाइएको छ।