संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि घोषणा गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।
समितिका संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा आइतबारको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरू रिहा भइसकेकाले बन्द कार्यक्रम स्थगित गरिएको जनाइएको छ।
यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत राप्रपाले उक्त बन्द कार्यक्रममा सहभागिता नजनाउने बताएका थिए।
उनले आइतबार फेसबुकमा लेख्दै राप्रपा सामान्यतया बन्दजस्ता अलोकप्रिय कार्यक्रमको विपक्षमा रहेको स्पष्ट पारेका थिए। साथै, सरकारले पक्राउ गरेका नेताहरू रिहा गरिसकेकाले सोमबारको बन्दमा पार्टीको कुनै संलग्नता नहुने जानकारी दिएका थिए।