काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना प्रणाली हटाउने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आज परीक्षण गरिएपछि पर्सिदेखि नयाँ व्यवस्था लागू हुनेछ। भोलि घटस्थापनाको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहनेछ।
गत चैत ७ गतेदेखि लागू गरिएको यो विधिले बजार सूचक अनावश्यक रूपमा तल झारिरहेको भन्दै धेरै लगानीकर्ताले आपत्ति जनाउँदै आएका थिए। यसअघि २:४५ देखि ३ बजेसम्म भएका सबै कारोबारको भारित औसत मूल्यलाई आधार बनाएर सूचक गणना गरिँदै आएको थियो।
लगानीकर्ताहरू र ब्रोकरहरूले नेप्सेको प्रविधि कमजोर र त्रुटिपूर्ण भएको भन्दै विधि हटाउन निरन्तर माग गर्दै आएका थिए। अघिल्ला केही समयमा पनि भारित औसत गणनामा प्राविधिक त्रुटि देखिँदा नेप्सेले क्षमायाचनासहित सूचक सच्याएको थियो। अन्ततः नेप्सेले अब अन्तिम कारोबार मूल्यकै आधारमा सूचकहरू गणना गर्ने निर्णय गरेको हो।