काठमाडौं, साउन ५ – ठगी र विश्वासघातको अभियोगमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई टोखाबाट पक्राउ गरेको हो।
२२ करोड रुपैयाँ बराबरको ठगी गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार अग्रवालले सेयर कारोबारको नाममा लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई धोका दिँदै आएका थिए।
नेपाल धितोपत्र बोर्डले अग्रवालविरुद्ध अनुसन्धान अघि बढाएको थियो। बोर्डको कारबाही प्रक्रियासँगै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
सेयर बजारमा चर्चित अनुहार मानिने अग्रवाल सस्तो मूल्यमा सेयर खरिद गरी त्यसलाई सामाजिक सञ्जालमा प्रचार गरेर लगानीकर्तालाई महँगो मूल्यमा खरिद गर्न उक्साउने गर्थे। उनले मूल्य कति पुग्ने भनेर झुठा आश्वासन दिँदै लगानीकर्ता फसाउने र आफैंले पहिले नै किनेको सेयर उच्च मूल्यमा बिक्री गर्ने गर्थे।
यस किसिमको व्यवहारका कारण उनले बजारमा आदर्श मानिने भए पनि व्यवहारमा भने ठगीका गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ।