काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से परिसूचक 0.६२ अंकले घटेर २ हजार ६२२.२२ विन्दुमा झरेको हो।
बुधबार बजारमा कुल ३ अर्ब २९ करोड ८ लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर ९५ लाख ८ हजार ८८२ कित्ता सेयर कारोबार भएको तथ्यांकमा उल्लेख छ।
कारोबार भएका कम्पनीमध्ये ११० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
बुधबारको कारोबार अवधिमा नेप्से सुरुवाततर्फ केही दबाबमा देखिएको थियो। त्यसपछि बजारमा सुधार हुँदै दिउँसो २ बजेतिर परिसूचक २ हजार ६२५ विन्दुको आसपास पुगे पनि अन्तिम समयमा केही अंक घटेर २ हजार ६२२.२२ विन्दुमा बजार बन्द भएको हो।
समग्रमा बजारमा गिरावट सामान्य रहे पनि घट्ने कम्पनीको संख्या बढ्दोभन्दा धेरै देखिएको छ। कारोबार रकम भने ३ अर्बभन्दा माथि कायम रहेकाले लगानीकर्ताको कारोबार गतिविधि सक्रिय नै रहेको देखिन्छ।