प्रवासीको सहयोगमा बिहुँकोटमा बनेका दुई अतिथि गृह हस्तान्तरण

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ स्थित धार्मिक तथा ऐतिहासिक स्थल बिहुँकोटमा प्रवासी बिहुँकोटेहरूको सहयोगमा निर्माण गरिएका दुईवटा अतिथि गृह स्थानीय समितिलाई हस्तान्तरण गरिएको छ। गत असोज १३ गते बिहुँकोट समाज जापान र जापान समाज बिहुँकोटको संयुक्त आयोजनामा सम्पन्न विशेष समारोहमार्फत उक्त अतिथि गृह हस्तान्तरण गरिएको हो।

श्रद्धालु भक्तजनहरूको आवतजावत बढेसँगै आवास व्यवस्थाको आवश्यकता रहेकाले प्रवासी बिहुँकोटेहरूले आर्थिक सहयोग संकलन गरी निर्माण गरिएको हो। बिहुँकोट समाज जापानका अध्यक्ष दीपक कंडेलका अनुसार करिब एक करोड रुपैयाँ संकलन गरिएकोमा ८० लाख रुपैयाँ लागतमा दुईवटा अतिथि गृह निर्माण गरिएको हो। जापान समाज बिहुँकोटका अध्यक्ष नारायण प्रसाद कंडेल (राजु) ले प्रवासी नेपालीहरूको निरन्तर सहयोगका कारण यो कार्य सम्पन्न भएको बताए।

यस अवसरलाई ऐतिहासिक बनाउन बिहानैदेखि धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम आयोजना गरिएको थियो। नेपाली सेनाको कालिजंङ गणको विशेष टोलीले मन्दिर सञ्चालक समितिसँग मिलेर फूलपाती भित्र्याएको थियो। सेनाले दिएको विशेष सलामी कार्यक्रमलाई भक्तजनहरूले गौरवपूर्वक अवलोकन गरेका थिए।

पुजारी हरि कंडेलका अनुसार बिहुँकोटमा काठेखोला, बागलुङ बजार, गल्कोट, गुल्मी, पर्वत, म्याग्दी, चितवन, दैलेखलगायत स्थानबाट भक्तजनहरू भाकल बोकेर आउने परम्परा छ। मल्लकालीन समयमा विभिन्न जातजातिलाई यहाँ ल्याइएको र सोही क्रममा “आराधाम महादेउपाध्याय” पुजारीद्वारा नियमित पूजाआजा सुरु भएको उल्लेख गरिन्छ। तल्लो र उपल्लो कोटमा विशेष पूजा हुने परम्परा अझै जीवित छ।

विजया दशमी, चैते दशैं तथा अन्य अवसरमा यहाँ भक्तजनहरूको भीड लाग्ने गरेको छ। श्रावण र माघबाहेक अन्य महिनामा आइतबार, मंगलबार र शनिबार विशेष पूजाआजा हुने परम्परा छ।

समारोहमा प्रमुख अतिथि तथा सल्लाहकार दीपक सुवेदीले प्रवासमा रहेर पनि मातृभूमिका धार्मिक, सामाजिक र मानवीय क्षेत्रमा योगदान दिन पाउनु गर्वको विषय भएको बताए। उनले एकता र सहकार्यकै कारण अतिथि गृह निर्माण सम्भव भएको भन्दै प्रवासी नेपालीहरूको खुलेर प्रशंसा गरे।

बिहुँकोट समाज जापान र अन्य प्रवासी संस्थाहरूले यसअघि पदमार्ग निर्माण, बाढीपीडितलाई राहत, मृगौला तथा क्यान्सर पीडितलाई सहयोग, धार्मिक स्थल विकासलगायत कार्यमा उल्लेखनीय योगदान गर्दै आएका छन्।

कार्यक्रममा राष्ट्रियस्तरका कलाकार प्रजापति पराजुली, रेशम सापकोटा, अस्मिता डल्लाकोटी, रिना केसीलगायतले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा गण्डकी प्रदेशका पूर्व पर्यटन मन्त्री मणिभद्र शर्मा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा, अन्तर्राष्ट्रिय बिहुँकोट समाजका अध्यक्ष देबिलाल सुवेदी, विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानीय व्यक्तित्वहरूले मन्तव्य राखेका थिए।

कार्यक्रम जापान समाज बिहुँकोटका महासचिव सुवास कंडेलको सञ्चालन, उपाध्यक्ष टिकाराम कंडेलको स्वागत तथा अध्यक्ष नारायण कंडेल (राजु) को सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय