सुमार्गीको नेतृत्वमा आँखुखोलामा साढे सात अर्ब लगानी


काठमाडौं–व्यवसायी अजेयराज सुमार्गीले ३८ मेगावाटको आखुखोला जलविद्युत आयोजना निर्माण गर्ने भएका छन् । खानी र टेलिकमका साथै २२ भन्दा बढी उद्योगमा लगानी गरेका सुमार्गीले करिब साढे ७ अर्ब रूपैयाँ अनुमानित लगानीको आँखुखोला जलविद्युतमा पनि लगानी अघि बढाएका हुन् । बागमती प्रदेशको धादिङ जिल्लामा पर्ने रूबी भ्याली र खनियाबास गाँउपालिकामा निर्माण गर्न थालिएको आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सिटिजन इन्टरनेशनल बैंकको अगुवाइमा ५ बैंक र प्रवद्धन कम्पनी आँखुखोला हाइड्रो प्रालि बीच मंगलबार वित्तीय व्यवस्थापनसम्बन्धी काठमाडौंमा सम्झौता भएको छ ।


सम्झौतामा प्रवर्द्धक आँखुखोला हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष अजेयराज सुमार्गीले र बैँकहरूका तर्फबाट सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका साथै सिभिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंक लिमिटेडका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । मुक्ति श्री कम्पनीको ९५ प्रतिशत स्वामित्व रहेको आँखुखोला हाइड्रो पावर कम्पनीका अध्यक्ष सुमार्गीले ग्यास तथा पेट्रोलियम पदार्थका कारण देशले ठूलो व्यापार घाटा बेहोरिरहेको र त्यसलाई प्रतिस्थापन गर्न जलविद्युतमा लगानी गर्न आवश्यक भएकाले आफू जलविद्युत आयोजना निर्माणतर्फ अघि बढेको बताए ।


आफूले लामो समयदेखि जलविद्युत क्षेत्रमा लगानी गर्न चाहेको भएपनि लाइसेन्स लिने प्रक्रिया र अन्य अध्ययनका कारण केही ढिलाइ भएको उनले बताए । ‘जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनाएको ८ वर्षभन्दा बढी भयो, यसमा अरू उद्योगमा जस्तो सजिलो हुँदो रहेनछ,’ सुमार्गीले भने, ‘कि लाइसेन्स खरिद गर्नुपर्ने नत्र सुरूदेखि प्रक्रिया अघि बढाउँदा ५ वर्ष त लागि हाल्ने रहेछ ।’उनले अहिलेसम्म आफूले निर्माण गरेका सबै परियोजना तोकिएको समयमा नै बनाएको प्रतिक्रिया दिए । यो आयोजना पनि निर्धारित समय ४ वर्षभित्रै पूरा गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

सिटिजन इन्टरनेशनल बैंकका प्रमुख कार्यकारी पोखरेलले व्यवसायी घरानाहरू जलविद्युत क्षेत्रमा आउन आवश्यक भएको बताए । व्यवसायी सुमार्गीको प्रवेशले जलविद्युत क्षेत्रमा लगानी विस्तारमा ठूलो सहयोग पुगेको उनको भनाइ थियो । सिटीजन बैंकको अगुवाइमा २५ वटा आयोजनामा लगानी जुटाइएको जानकारी दिनुका साथै उनले समयमै निर्माण सम्पन्न गर्न बैंकका तर्फबाट आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


अनुमानित लागत ७ अर्ब ३३ करोड रूपैयाँ रहेको आयोजनामा ५ बैंकको ऋण ७५ प्रतिशत रहनेछ भने जलविद्युत कम्पनीको २५ प्रतिशत लगानी रहने जानकारी अध्यक्ष सुमार्गीले दिएका छन् । जसअनुसार ५ बैंकले आयोजनामा ५ अर्ब ५० करोड रूपैयाँ बराबर ऋण लगानी गर्नेछन् भने जलविद्युत कम्पनीको १ अर्ब ८३ करोड रूपैयाँ लगानी रहनेछ ।  आयोजना आगामी ४ वर्षभित्रै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ । आयोजना अघि बढाउन नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायमा सबै कानुनी प्रक्रिया पूरा गरेको कम्पनीले जनाएको छ ।
आयोजना निर्माणपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लास्थित त्रिशुली ३ बी हब सबस्टेसनमा जोड्ने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६ दशमलव ७ सय गिगावाट घन्टा र बर्खामा १५२ दशमलव ४३८ गिगावाट घन्टा गरी वार्षिक २१९ दशमलव १३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया