सरकार र निजी क्षेत्रको साझेदारीमा बन्द उद्योग चलाऔं–वरिष्ठ उपाध्यक्ष ढकाल


काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएका छन्  । शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बीचमा साझेदारी गरी गोरखकाली रबर उद्योग लगायतका बन्द तथा घाटामा रहेका उद्योगहरु सञ्चालन गर्न सकिने बताए  । “यहाँ गोरखकाली रबर उद्योग सञ्चालनको कुरा उठेको छ । यस्ता उद्योगहरु धेरै बन्द अवस्थामा छन् ।

निजी क्षेत्र र सरकारबीच साझेदारी हुन सकेमा हामीले एउटा कन्सोर्टिएम बनाएर त्यस्ता उद्योगहरुमा लगानी गरी तिनीहरुलाई पुनः सञ्चालन गर्न सकिन्छ,” उनले भने । 
ढकालले सरकारी ढुकुटीमा खर्बौ रुपैयाँ राजश्व जम्मा रहेको तर खर्च गर्ने पुरानो र परम्परागत शैलीका कारण खर्च बढ्न नसकेको बताएका छन् । “अहिलेसम्म सरकारी ढुकुटीमा ४ खर्ब रुपैयाँभन्दा धेरै राजश्व संकलन भइसकेको छ । यो पुस मसान्तभित्र थप १ खर्ब रुपैयाँ राजश्व संकलन हुनेछ ।


तर राजश्व संकलन केन्द्रिकृत हुने र यसलाई खर्च गर्ने संयन्त्र नहुनाले बजारमा तरलताको समस्या देखा परेको छ,” उनले भने। 
गत पाँच महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको बताउँदै उनले यसमा निजी क्षेत्रको योगदान ठूलो रहेको बताए।ढकालले सबै व्यवसायीहरुले नाफामात्र नहेरेको बताउँदै उनीहरुले समाजप्रति उत्तरदायी भएर गरेको सेवा भावनालाई पनि सबैले सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।
उनले मुलुकको राजश्वमा ठूलो योगदान रहेको निजी क्षेत्रलाई सरकारको मर्यादाक्रममासमेत नसमेटिएकोमा गुनासो गरे ।

प्रतिक्रिया