काठमाडौं — ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार भट्टराईले देशभरका रेडियो सञ्चालक तथा अगुवाहरूसँग भेटघाट तथा छलफल गरेका छन्। सातै प्रदेशका विभिन्न रेडियो प्रतिनिधिसँगको संवादमा रेडियो क्षेत्रले भोगिरहेका समस्या र समाधानका उपायबारे चर्चा गरिएको उनले बताएका छन्।
भट्टराईका अनुसार कठिन परिस्थितिका बीच पनि रेडियोहरूले सूचना प्रवाह र जनचेतनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनले रेडियो क्षेत्रलाई जोगाउन सरकारको तर्फबाट विशेष पहल आवश्यक रहेको बताएका छन्।
देशभरका रेडियो सञ्चालकहरूले संगीत रोयल्टी, प्रसारण रोयल्टी तथा नवीकरण शुल्कमा राहत दिन सरकारसँग माग गरेका छन्। आर्थिक अवस्था कमजोर बन्दै जाँदा रेडियो सञ्चालन चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ रहेको छ।
अध्यक्ष भट्टराईले मानव स्रोत व्यवस्थापन र आर्थिक संकटका कारण रेडियो क्षेत्र ठूलो जोखिममा परेको उल्लेख गर्दै करोडौं लगानी सुरक्षित बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए। उनले दूरदराजका नागरिकका लागि रेडियो अझै पनि भरपर्दो सूचनाको माध्यम भएकाले यसलाई संरक्षण गर्न नसके सरकार र जनताबीचको सूचना पहुँच कमजोर हुने धारणा व्यक्त गरे।