सरकारको कार्यशैलीप्रति कांग्रेस नेताहरूको असन्तुष्टि

काठमाडौं — कांग्रेसभित्रै सरकारको कार्यसम्पादन र प्रधानमन्त्रीको कार्यशैलीप्रति गहिरो असन्तुष्टि देखिन थालेको छ। शनिबार विभिन्न कार्यक्रमहरूमा कांग्रेस नेताहरूले सरकारको प्राथमिकता चयन, निर्णय प्रक्रिया र प्रदर्शनमाथि गम्भीर प्रश्न उठाएका छन्।

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालाले सरकारको आलोचना गर्दै कांग्रेस सत्तामा भए पनि प्रभावहीन बनेको टिप्पणी गरेका हुन्।

धनकुटामा आयोजित कार्यक्रममा गगन थापाले ऊर्जामन्त्री दीपक खड्काको नाम नलिए पनि अप्रत्यक्ष रूपमा आलोचना गर्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइप्रति असहमति जनाए। “सरकारले एउटा अनावश्यक निर्णय गर्‍यो, जसका कारण हामीले उत्तर दिँदै हिंड्नुपरेको छ,” उनले भने, “हाम्रा मन्त्रीहरूले गर्नुपर्ने काम मात्रै गरुन्, नगर्नुपर्ने काम नगरुन्।”

त्यस्तै, नेपालगन्जमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको प्राथमिकता र कार्यगत क्षमतामाथि प्रश्न उठाए। “प्रधानमन्त्रीले सडकमा होइन, सरकारको काममा ध्यान दिनुपर्छ,” उनले भने, “शिक्षक आन्दोलन समाधान गर्नु प्रधानमन्त्रीको प्राथमिकता हुनु आवश्यक थियो।”

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. शेखर कोइरालाले कांग्रेस सत्ता साझेदार भए पनि सरकारमा प्रभावशाली रूपमा नदेखिएको बताए। “हामी सत्तामा छौं, तर सरकारमा छैनौं,” उनले भने, “एमालेसँग सँगै बसेर सरकार चलाउनु कांग्रेसका लागि चुनौतीपूर्ण छ।”

कोइरालाले संविधान संशोधन र सुशासनलाई प्राथमिकता दिनुपर्ने बताउँदै कांग्रेसले सरकारमा रहेर पनि निरन्तर खबरदारी गर्नुपर्ने धारणा राखे। “यदि खबरदारी भएन भने कांग्रेसको भविष्य अप्ठ्यारोमा पर्न सक्छ,” उनले भने।

सभापति देउवा रक्षात्मक देखिए

कांग्रेस नेता कोइरालाको आलोचनालाई जवाफ दिँदै सभापति शेरबहादुर देउवा भने रक्षात्मक देखिए। “सरकारको नाममा धेरै बदनाम भइरहेको छ, तर हामी चाहँदैनौं कि यो बढोस्,” देउवाले भने।

उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे आफ्नो अघिल्लो भनाइ स्पष्ट पार्दै भने, “नेपालका लागि भारतीय राजदूतले योगीलाई भेटेका थिए, राजावादीलाई कुनै समर्थन छैन भन्ने कुरासमेत उनले प्रस्ट पारेका छन्।”today Nayapatrika daily

प्रतिक्रिया