बुधबार शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन घट्दै ४६.७८ अंकले ओरालो लागेर २७९६.५७ बिन्दुमा बन्द भएको हो। अघिल्लो दिन मंगलबार पनि नेप्से घटेर बन्द भएको थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ८.३२ अंकले घटेको छ। त्यसैगरी फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंकले कमी आएको छ। बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार २१ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार भने १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ।
कुल ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर १ लाख १५ हजार ५५० पटकको कारोबारबाट किनबेच भएको छ।
कारोबारका क्रममा सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा पुगेको छ। सो बैंकको शेयर मूल्य ७८ रुपैयाँ ४० पैसा बढेर ८६२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै नेशनल हाइड्रोपावरको शेयर मूल्य झण्डै १० प्रतिशतले बढ्दा रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता कालिका पावर कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै ८.४७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढी र नेशनल हाइड्रोपावरको करिब ४९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजारमा रहेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फण्ड उपसमूह मात्रै सामान्य बढेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४० प्रतिशतले घटेको छ। वित्त उपसमूह दुई प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूह पनि एक प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।