काठमाडौं — साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबारको कारोबारमा नेप्से ११.५३ अंकले घटेर २६५०.११ बिन्दुमा झरेको छ। बजारमा ३०० कम्पनीको सेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब २० करोड रुपैयाँ नाघेको छ।
कुल १६४ कम्पनीको सेयर मूल्य घट्दा ८२ कम्पनीको सेयर मूल्य बढेको छ। कारोबार रकमको आधारमा राधी विद्युत कम्पनी अग्रस्थानमा रह्यो, जसको ६६ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसपछि ङादी ग्रुप पावरको ६० करोड ६८ लाख र युनिभर्सल पावरको ५४ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भयो।
आज लगानीकर्तालाई सबैभन्दा बढी लाभ नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका सेयरले दिलाए। यी कम्पनीका सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको हो। यस्तै, हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशत तथा ओम मेगा श्रीका लगानीकर्ताले ९.९८ प्रतिशत लाभ कमाएका छन्।
उता, सिन्धु विकास बैंकका लगानीकर्ताका लागि दिन निराशाजनक रह्यो। कम्पनीको सेयर मूल्य ७.४५ प्रतिशतले घट्दा लगानीकर्ताले सर्वाधिक घाटा व्यहोर्नुपर्यो।