पेट्रोलियम पदार्थ आयातमा वृद्धि, वीरगञ्ज भन्सारबाट ५० अर्ब राजस्व संकलन

पर्सा - चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ आयात एक अर्ब ६७ करोड रुपैयाँले वृद्धि भएको छ। अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार पेट्रोलियम पदार्थको आयातमा वृद्धि हुनुका पछाडि पूर्वाधार निर्माण कार्यका कारण पनि हुन सक्ने बताएका छन्।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ३३ करोड रुपैयाँले बढी हो।

पेट्रोलियम पदार्थको आयात र राजस्व संकलन:

पदार्थ आयातित परिमाण आयात लागत (रु. अर्ब) राजस्व संकलन (रु. अर्ब)
डिजेल ६ लाख ८५ हजार ९९१ किलोलिटर ६१.४५ २७.३१
पेट्रोल २ लाख ९० हजार ३८२ किलोलिटर २५.३० १६.४८
एलपीजी ग्याँस २१ करोड ४२ लाख ७८१ किलोग्राम २४.०५ ४.५०

गत वर्षको तुलनामा एलपीजी ग्याँसको आयात पनि बढेको छ। गत आवको आठ महिनामा १९ अर्ब ५२ करोड रुपैयाँ बराबरको १८ करोड ६८ लाख १२ हजार १२० किलोग्राम एलपीजी आयात भएको थियो।

प्रतिक्रिया