साताको पहिलो दिन नेप्सेमा हरियाली, कारोबार रकम घट्यो

साताको पहिलो कारोबार दिन, आइतबार, नेप्से परिसूचक सामान्य रूपमा बढेको छ। अघिल्ला दुई दिनको गिरावटपछि नेप्सेमा पुनः हरियो संकेत देखिएको हो। आइतबार नेप्से ०.४७ अंकले वृद्धि भई २,६५५.८५ विन्दुमा पुगेको छ।

यद्यपि, सेन्सेटिभ इण्डेक्स ०.६७ अंकले, फ्लोट इण्डेक्स ०.१३ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले घटेका छन्।

सामान्य वृद्धिसँगै नेप्से परिसूचकले सुधार देखाए पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबार साढे १२ अर्बको कारोबार भएको थियो भने आइतबार ३०८ स्टकमा ९५ हजार ३७४ पटक कारोबार भई ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको २ करोड ५३ लाख कित्ता शेयर किनबेच भयो।

त्यसदिन तीन कम्पनी — ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावर — को शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। यस्तै, बरुण हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले र युनियन हाइड्रोपावरको ९ प्रतिशतभन्दा बढीले बढेको छ। तर, नेपाल हाइड्रो डेभलपर्सको शेयर करिब साढे ४ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा सानिमा माइ हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको ८९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो। त्यसपछि ङादी ग्रुप पावरको ८७ करोडभन्दा बढी र बुटवल पावर कम्पनीको साढे ६४ करोडको कारोबार भएको हो।

१३ उपसमूहहरूमध्ये आइतबार ५ उपसमूहको परिसूचकमा वृद्धि भयो भने ८ उपसमूहको परिसूचकमा गिरावट आयो। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४७ प्रतिशतले बढ्दै अग्रणी रह्यो। त्यसैगरी, व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले उकालो लाग्यो। बाँकी बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहहरू सामान्य रूपमा घटेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय