काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढ्दा कारोबारमा भने उछाल आएको छ । नेप्से ३.२१ अंकले बढ्दा कारोबार ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको भएको छ।
नेप्से झिनो अंकले बढ्दा विकास बैंक समूहमा उत्साह देखिएको छ । विगत केही दिनयता वित्त समूहमा झुमिएका लगानीकर्ता आज विकास बैंक समूहमा बढी लगानी गरेको देखिएको छ। आज नेप्से ०.१५ प्रतिशतले बढेर २०६६.१६ विन्दुमा पुग्दा विकास बैंक समूह ६३ अंकले बढेको छ। लघुवित्त समूह पनि आज ६१.७६ अंकले बढेको छ। आज बढ्ने समूहहरूमध्ये तेस्रो स्थानमा फाइनान्स समूह रहेको छ, जसले ५२.३२ अंकको वृद्धि गरेको छ।
आज १ करोड ७ लाख ७ हजार ८७८ कित्ता कारोबार हुँदा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।