आज घटस्थापना,घरघरमा जमरा राखिने

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ। आज पहिलो दिन घटस्थापना हो। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ।

आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट ल्याइएका बालुवा वा माटोमा जौ छरेर जमरा राखिन्छ। दुर्गा देवीको प्रिय वस्तु जौको अंकुरलाई विजया दशमीका दिन टीका प्रसादसहित ग्रहण गरिन्छ, जसलाई समृद्धिको प्रतीक मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार जौबाहेक गहुँ वा मकैको जमरा राख्ने शास्त्रीय विधि छैन। घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिन्छ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। यस अवधिभर दुर्गादेवीका नौ रुप—शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। सातौं दिन फूलपाती भित्राइन्छ भने महाअष्टमी र महानवमीका दिन बलिसहित विशेष पूजा हुने गर्छ।

यस अवधिमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत लगायतका ग्रन्थको पाठ गरिन्छ। नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका शक्तिपीठमा पूजाआजा र दर्शनार्थीको भीड लाग्ने गर्छ।

दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। जानकारहरूका अनुसार दुर्गा पूजा र दशैं कुनै जात वा धर्म विशेषमा मात्र सीमित नभई मानवकल्याणका लागि दैवी शक्तिको प्रतीकका रूपमा व्याख्या गरिएको हो।

यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय