काठमाडौं - सेयर बिक्री गरेको रकम दुई हप्तासम्म पनि खातामा जम्मा नभएपछि ब्रोकरविरुद्ध नियामक निकाय नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले गरेको उजुरीको चाङ लागेको छ । कारोबार भएको दुई दिनभित्र बिक्रीकर्ताको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था भए पनि दुई हप्तासम्म पनि भुक्तानी नपाएको भन्दै लगानीकर्ताले बोर्डमा उजुरी गरेका हुन् ।
एक सातामा बोर्डमा लगानीकर्ताबाट आउने उजुरी उच्चदरमा बढेको बोर्डको उजुरी शाखामा आएको निमित्त कार्यकारी निर्देशक नवराज अधिकारीले बताए । उनले भने, ‘पछिल्लो एक सातादेखि उजुरी धेरै आएका छन, कतिको संख्याको आएको भन्ने ठ्याक्कै थाहा भएन । तर, धेरै गुनासो आएको पाएको छु ।’ उजुरीको संख्या बढेपछि ब्रोकरका प्रतिनिधिहरूलाई फोन गरेर भुक्तानीको समस्याबारेमा जानकारी लिएको उनको भनाइ छ ।
उनले भने, ‘समस्या समाधान तुरुन्त नभए म कारबाहीको प्रक्रिया अघि बढाउँछु भनेको छु ।’ भुक्तानी समस्याको विषयमा तत्काल अनुसन्धान अघि बढाउने पनि उनले बताए । ‘अहिले धितोपत्र बोर्ड अध्यक्षविहीन छ । केही ब्रोकरले यसको फाइदा उठाउन लगानीकर्ताको पैसा भुक्तानीमा ढिलाइ गरेको हुन पनि सक्छ,’ उनले भने, ‘तर, हामी त्यस्तो हुन दिदैनौँ । तत्काल यसबारे आवश्यक अनुसन्धान अघि बढाउँछौँ ।’
बोर्ड अध्यक्षविहीन भएको अवसर पारेर केही ब्रोकरले फाइदा लिन खाजेको लगानीकर्ता संघका एक सदस्यले बताए । उनले भने, ‘अहिले बोर्डमा अध्यक्ष पनि नहुनु र एकाएक ब्रोकरको भुक्तानीमा समस्या आउनु संयोग त पक्कै नहोला, नभए पुसमा पनि भुक्तानीको समस्या आउथ्यो होला ।’ अहिले धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको छ ।
अन्य पदाधिकारीसँग ब्रोकरले लगानीकर्ताहरूलाई भुक्तानी नै नगरे पनि कारबाही गर्र्ने अधिकार नभएको उनको भनाइ छ । तर, पछिल्लो समय हिमालयन रिन्स्योरेन्सको सेयर ठूलो परिणामा खरिद बिक्री हुँदा सिस्टमा आएको समस्याले केही ढिलाइ भएको न्यु स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । उनले भने, ‘धेरै लगानीकर्ताको सेयर भएको हुँदा अधिकांशले सेयर बिक्री गरे । त्यस कारणले पनि ब्रोकरलाई भुक्तानीमा ढिलाइ भएको हो, तर अहिले समस्या समाधान भइसक्यो ।’
पछिल्लो समय बजारमा औसत तीन अर्बको मात्र कारोबार हुँदै आएको छ । पुस मसान्तसम्म औसत एक अर्ब कारोबार हुँदै आएको थियो । सेयर बजार करिब २२ सयको विन्दुसम्म पुगेर फर्किँदा नौ अर्बसम्मको कारोबार भएको थियो । एक ब्रोकरले भने, ‘थोरै कारोबार हुँदा समस्या थिएन बजार पनि बढ्यो कारोबार पनि बढ्दा एकैपटक सेटल गर्दा सुरुमा समस्या भएको हो । तर,अहिले छैन ।’
अनलाइन प्रणालीबाट सेयर विक्री गरेको रकम भुक्तानी नभएको कारणले समयमै रकम जम्मा हुन नसकेको एक ब्रोकरले बताए । तर, अहिले यस्तो समस्या नभएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बताए । उनले भने, ‘अहिले केही समस्या भएको छैन, त्यत्तिकै केही व्यक्तिले सामाजिक सञ्जालमा अहवाफ फैलाइएको छ,’ उनले भने, ‘माघको पहिलो हप्ता टिएमएस मर्मत–सम्भार र अनलाइन भुक्तानी नहुँदा केही दिन समस्या भएको हो, त्यो समाधान भइसक्यो, तर अहिले कतै समस्या नै छैन ।’ उनका अनुसार लामो समयसम्म खाता अपडेट नभएको अवस्थामा रकम रोक्का हुने र जानकारी गराएपछि समाधान हुने गरेको छ । आजको नयाँपत्रिका दैनिकबाट