काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा आज दिउँसो ठूलो पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ।
दिउँसो ४ः५५ बजे गएको पहिरोपछि निरन्तर जमिन खसिरहेकाले मलबा पन्छाउन कठिन भइरहेको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिए। उनका अनुसार, “पहिरो झर्ने क्रम नरोकिएकाले काम गर्नै गाह्रो भएको छ।”
यसअघि गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो। सोमबार मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइएकोमा आज पुनः ठूलो पहिरो जाँदा आवागमन अवरुद्ध भएको हो। पहिरो पूर्ण रूपमा पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।