देशमा रेमिट्यान्सको निरन्तर वृद्धिसँगै नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सञ्चिति झन् बढ्दै गएको छ। करिब १२ खर्बको हाराहारीमा रहेको विदेशी मुद्रा सञ्चिति पछिल्ला दुई वर्षयता तीव्र गतिमा बढ्दै गएको छ।
२०७८/७९ को असोजमा करिब २१ खर्ब रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति २०८० असोजमा १६ खर्ब नाघ्यो भने २०८१ असोजमा २० खर्ब पार गर्यो। चालु आर्थिक वर्षको असोजमा भने विदेशी मुद्रा सञ्चिति झन्डै ३० खर्ब नजिक पुगेको छ, जुन अहिलेसम्मकै उच्च स्तर हो।
सरकारको चालु खर्च स्थिर रहे पनि पुँजीगत खर्चमा देखिएको कमजोरीका कारण राष्ट्र बैंकको ढुकुटीमा पैसा थपिँदै गएको विश्लेषण गरिन्छ। पुँजीगत खर्च कम हुँदा बैंकिङ प्रणालीमा पनि निक्षेप बृद्धि भएको छ।
चालु आवको असोज मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। आव सुरुवातमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ सञ्चिति थियो। अमेरिकी डलरमा हेर्दा असोज मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति २१ अर्ब २१ करोड डलरमा पुगेको छ।
कुल सञ्चितिमध्ये २६ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकसँग र ३ खर्ब १२ अर्ब १० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा रहेको छ। राष्ट्र बैंकले कुल विदेशी मुद्रा सञ्चितिमध्ये करिब २४ प्रतिशत (झन्डै एक–तिहाइ) भारतीय मुद्राको हिस्सा रहेको जनाएको छ।
विदेशी मुद्रा सञ्चितिको हालको आकारले नेपालले १९.९ महिनासम्मको वस्तु आयात तथा १६.४ महिनासम्मको वस्तु तथा सेवा आयात सहजै धान्न सक्ने देखिएको छ।