इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको इरानी सरकारी टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था Reutersका अनुसार आइतबार बिहान इरानी अधिकारीहरूले पनि उनको निधन भएको औपचारिक जानकारी दिएका हुन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए, तर इरानी पक्षले उनी सुरक्षित रहेको बताउँदै आएको थियो।
शनिबार बिहान अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य कारबाही गरेको बताइएको छ। राजधानी तेहरानस्थित खामेनीको निवास आसपास ठूलो विस्फोटको आवाज सुनिएको र धुवाँ देखिएको भिडियो तथा तस्बिर सार्वजनिक भएका थिए। आक्रमणमा खामेनीको घर नजिकका संरचनासमेत क्षतिग्रस्त भएको जनाइएको छ।
खामेनीको निधनपछि इरान सरकारले ४० दिनसम्म सार्वजनिक शोक मनाउने घोषणा गरेको छ। आक्रमणपश्चात ट्रम्पले इरानी नागरिकहरूका लागि सत्ता आफ्नो नियन्त्रणमा लिने अवसर आएको अभिव्यक्ति दिएका थिए। घटनापछि इरानमा राजनीतिक तथा सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।