पोखरा । लोकदोहोरी रेस्टुरेन्ट व्यवसायीहरूको भेलाले बिहीबार होम गुरुङको अध्यक्षतामा कास्की लोकदोहोरी व्यवसायी संघ गठन गरेको छ।
व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा आपसी सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले आयोजित भेलाले पाँच सदस्यीय कार्यसमिति चयन गरेको हो। नवगठित समितिको सचिवमा तेज चालिसे, कोषाध्यक्षमा विशाल मगर तथा सदस्यहरूमा करिश्मा बराल र नौजङ गुरुङ चयन भएका छन्।
संघमा कास्की जिल्लाका १५ वटा लोकदोहोरी तथा रोधीघर व्यवसाय आबद्ध रहेका छन्। संघमा डाँडाघरे दोहोरी साँझ, फेवा दोहोरी, झल्को रोधीघर, मान्द्रो दोहोरी, विशाल दौतरी, ए–वान गाउँ सहर दोहोरी, साइनो रोधी नाचघर, गामबेशी रोधी क्लब, सफल बिसौनी दोहोरी, भन्ज्याङ बुटिक, रिदम दोहोरी साँझ, आधिखोला दोहोरी, सात ताल दोहोरी, ससुराली दोहोरी तथा ताल बाराही दोहोरी आबद्ध रहेका छन्।
नवगठित संघले लोकदोहोरी व्यवसायीहरूको साझा हित, व्यवसायिक समस्या समाधान तथा पर्यटन प्रवर्द्धनमा सहकार्य गर्दै अगाडि बढ्ने जनाएको छ।