आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन्।

साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि अघि बढाएको प्रक्रियामा उनी उत्कृष्ट तीन उम्मेदवारमा परेका थिए।

कार्यकारी निर्देशक पदका लागि साहसँगै प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव प्रतिस्पर्धामा थिए। अनुभव र योग्यताका आधारमा साहलाई उपयुक्त उम्मेदवार ठहर गर्दै मन्त्रिपरिषद्ले उनलाई निगमको नेतृत्वको जिम्मेवारी दिएको हो।

नयाँ कार्यकारी निर्देशक साहका लागि निगमको दीर्घकालीन इन्धन व्यवस्थापन र भण्डारण क्षमता विस्तार प्रमुख चुनौतीका रूपमा देखिएको छ। सरकारले अघि सारेको योजनाअनुसार कम्तीमा ९० दिनसम्मको माग धान्न सक्ने पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माणलाई अघि बढाउनु उनको प्रमुख जिम्मेवारीमध्ये एक हुनेछ।

नेपालको पेट्रोलियम आपूर्ति प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउन भण्डारण क्षमता विस्तारलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ। नयाँ नेतृत्वले निगमको पूर्वाधार विकाससँगै इन्धन आपूर्ति व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउँछ भन्ने विषयमा पनि चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय