काठमाडौं । नेपालको अर्थतन्त्रका बाह्य सूचकहरू थप सुदृढ बन्दै गए पनि आन्तरिक आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसकेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले यस्तो चित्र प्रस्तुत गरेको हो।
प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, शोधनान्तर स्थिति र चालु खातामा उल्लेख्य सुधार देखिएको छ। विपरीत मुद्रास्फीति, कर्जा विस्तार, लगानी, उत्पादन, रोजगारी तथा राजस्व संकलनजस्ता आन्तरिक सूचक भने अझै कमजोर अवस्थामा रहेका छन्।
राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। गत आर्थिक वर्षको असार मसान्तको तुलनामा सञ्चिति ४०.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा सञ्चिति २४ अर्ब ६८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २६.५ प्रतिशतले बढी हो। कुल सञ्चितिमध्ये ३३ खर्ब ३० अर्ब रुपैयाँ राष्ट्र बैंकमा र ४ खर्ब २५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा रहेको छ।
रेमिट्यान्स आप्रवाह पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिमा २१ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशत बढी हो। अमेरिकी डलरमा रेमिट्यान्स १४ अर्ब ५९ करोड पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजार २११ पुगेको राष्ट्र बैंकले जनाएको छ।
बाह्य क्षेत्रको अर्को सकारात्मक पक्ष शोधनान्तर स्थिति हो। जेठ मसान्तसम्म शोधनान्तर बचत ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो बचत ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ थियो। चालु खाता पनि ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार हो।
यता, मुद्रास्फीति भने बढेको छ। जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो २.७२ प्रतिशत थियो। यद्यपि, चालु आर्थिक वर्षको ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा विस्तार अपेक्षाअनुसार हुन सकेको छैन। समीक्षा अवधिमा कर्जा विस्तार ६.२ प्रतिशतमा सीमित रहँदा कुल कर्जा ५८ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कर्जा विस्तार ८ प्रतिशत थियो। पर्याप्त तरलता र ब्याजदर घट्दासमेत निजी क्षेत्रबाट कर्जाको माग कमजोर रहेको संकेत प्रतिवेदनले गरेको छ।
यद्यपि निक्षेप संकलन भने सुदृढ रहेको छ। जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १०.३ प्रतिशतले बढेर ८० खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपको वृद्धि कर्जाको तुलनामा उच्च रहँदा बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहेको देखिएको छ।
पर्यटन क्षेत्रतर्फ भने मिश्रित अवस्था देखिएको छ। समीक्षा अवधिमा भ्रमण आय सामान्य घटेर ८२ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ भने नेपालीले विदेश भ्रमणमा गर्ने खर्च १ खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। भ्रमण आयभन्दा व्यय बढी भएकाले खुद सेवा आय ७२ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।
समग्रमा प्रतिवेदनले नेपालको बाह्य आर्थिक अवस्था अहिले बलियो रहेको देखाए पनि आन्तरिक आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसकेको स्पष्ट संकेत गरेको छ। विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स र शोधनान्तरमा सुधार देखिए पनि लगानी विस्तार, उत्पादन वृद्धि, कर्जा प्रवाह र रोजगारी सिर्जनामा सुस्तता कायमै रहेकाले आर्थिक गतिविधिलाई चलायमान बनाउन थप नीतिगत पहल आवश्यक देखिएको छ।