काठमाडौ - शेयर बजार प्रति आकर्षण नेपालमा मात्र हैन छिमेकी देश भारतमा पनि छ । अहिले त्यहाँको शेयर बजार स्थिर रहे पनि नयाँ लगानीकर्ता प्रवेश गर्ने क्रम भने निकै बढेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार भारतमा डिम्याट खाता खोल्नेहरुको संख्या १० करोड नाघेको छ । भारतको सेन्ट्रल डिपोजिटरी सर्भिसेज (सीडीएसएल) का अनुसार अगस्टमा मात्रै २२ लाख नयाँ खाताहरू थपिएका छन् । लकडाउनको समयमा लगानीकर्ताको सेयर बजारमा सहभागिता बढेका कारण डिम्याट खाता खोल्नेहरुको संख्या पनि तिब्ररुपले बढेको हो ।
यद्दपि, भारतको कुल जनसंख्यालाई हेर्दा हालसम्म ७.२४% ले मात्र डिम्याट खाता खोलेको देखिन्छ । मार्च २०२० सम्म सेन्ट्रल डिपोजिटरी सर्भिसेज र राष्ट्रिय धितोपत्र निक्षेपहरूमा कुल खाताको संख्या ४ करोड रहेको थियो ।
भारतमा १८ वर्ष वा सोभन्दा माथि उमेर पुगेका र प्यान कार्ड भएका कुनैपनि बासिन्दा डिम्याट खाता खोल्नका योग्य मानिन्छन् । नेपालमा पनि ५३ लाख ९२ हजार डिम्याट खाताहरु रहेका छन् ।