नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बिहीबार बाँडफाँट, १७ लाखभन्दा बढी लगानीकर्ता खाली

काठमाडौं – नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिहीबार (फागुन २२) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहान ८:३० बजे क्यापिटलको लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँट गर्ने तयारी गरिएको छ।

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ अत्यधिक माग भएपछि गोलाप्रथाबाट बाँडफाँट हुने निश्चित भएको छ। कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ। कुल १९ लाख ९७७ जना लगानीकर्ताले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन्। तर, भाग्य मिलाउने केवल १ लाख ८४ हजार ५०० लगानीकर्ताले मात्र प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। बाँकी १७ लाख १७ हजार ४७७ जना लगानीकर्ताको हात खाली हुनेछ।

कम्पनीले फागुन ११ देखि १५ गतेसम्म १०० रुपैयाँ अंकित दरमा १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो, जसबाट १८ करोड ४५ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको थियो।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्सुरेन्सको आइपीओलाई 'CARE-NP BB-' रेटिङ दिएको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। केयर नेपालले २०८१ भदौ ६ गते दिएको यो रेटिङ २०८२ भदौ ६ गतेसम्म मान्य रहनेछ।

प्रतिक्रिया