१ खर्ब ९ अर्ब रुपैयाँको सवारीसाधन आयात

काठमाडौं – गत आर्थिक वर्षमा नेपालले एक खर्ब नौ अर्ब रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। खासगरी विद्युतीय गाडीको आयातमा तीव्र वृद्धि भएपछि कुल सवारीसाधन आयातमा उल्लेखनीय उछाल आएको हो।

२०७८/७९ मा ९९ अर्ब ४२ करोड रुपैयाँको सवारीसाधन आयात भएको थियो। सो वर्ष ९० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो भने हालै सम्पन्न २०८१/८२ मा ८० अर्ब रुपैयाँ राजस्व मात्रै उठेको देखिन्छ। भन्सार शुल्कमा रहेको भिन्नताले यो अन्तर देखिएको अधिकारीहरूको भनाइ छ।

गत वर्ष १८ हजार ५४१ वटा निजी चारपांग्रे सवारी नेपाल भित्रिएका छन्, जसमा विद्युतीय र पेट्रोलियम दुवै प्रकारका छन्। कुल १३ हजार ५७८ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। तीमध्ये ५० किलोवाटसम्मका ४७४१, ५१–१०० किलोवाटबीचका ७४३१, १००–२०० किलोवाटका १३६२ र २०० किलोवाटभन्दा माथिका ४४ गाडी रहेका छन्।

सरकारले पेट्रोल–डिजेल चल्ने गाडीको आयातमा कडाइ गरे पनि सो प्रकारका झण्डै पाँच हजार गाडी भित्रिएका छन्। आइस इन्जिनयुक्त प्यासेन्जर गाडी मात्रै ४९६३ वटा आयात भएको तथ्यांकमा उल्लेख छ।

यसैबीच, ११ सिटमाथिका विद्युतीय बस ३१०६ र डिजेल बस ११६९ वटा नेपाल भित्रिएका छन्। दुईपांग्रे गाडीको आयात पनि सुधारिएको छ। गत वर्ष २ लाख १ हजार मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। तीमध्ये ११ हजार ३१८ वटा विद्युतीय रहेका छन्।

दुईपांग्रेको बजार विस्तारै लयमा फर्किंदैछ। व्यवसायीहरूका अनुसार साधारण अवस्थामा वार्षिक दुई लाख ५० हजारदेखि तीन लाखसम्म बिक्री हुने मोटरसाइकल बजार अझै पुरानो स्थितिमा फर्किएको छैन।

यता, नेपालले अघिल्लो आर्थिक वर्षमा १५ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ। तथापि, कुल वस्तु निर्यातमा भने नयाँ रेकर्ड कायम भएको भन्सार विभागले जनाएको छ।

नेपालमा सवारीसाधन आयातको विवरण (२०८१/८२)

विवरण संख्या / मूल्य
कुल सवारीसाधन आयात १ खर्ब ९ अर्ब रुपैयाँ
विद्युतीय सवारीसाधन (चारपांग्रे) १३,५७८ वटा
पेट्रोल/डिजेल प्यासेन्जर गाडी ४,९६३ वटा
११ सिट माथिका विद्युतीय बस ३,१०६ वटा
दुईपांग्रे सवारीसाधन (कुल) २,०१,००० वटा
दुईपांग्रे विद्युतीय ११,३१८ वटा
कुल व्यापार घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ
कुल राजस्व संकलन (सवारीसाधनबाट) ८० अर्ब रुपैयाँ

तथ्यांक: भन्सार विभाग, नेपाल सरकार (२०८१/८२ को आर्थिक वर्ष)

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय