काठमाडौं। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीहरूले काम छोडेर शेयर कारोबारमा लिप्त हुन थालेपछि सो क्षेत्रमा शेयर कारोबार निषेध गर्न तयारी गरिएको छ।
कर्मचारीहरूले आफ्नो जिम्मेवारीसम्पन्न नगरी, सेवाग्राहीलाई सेवा दिनुको सट्टा दिनभरि शेयर कारोबारमा रमाइरहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि छड्के अनुसन्धान गरिएको हो।
अनुसन्धानका क्रममा, धेरैजसो कर्मचारीले कार्यालय समयमा शेयर कारोबारमा संलग्न रहेको पाइएको छ। केही कर्मचारी शेयर मूल्य बढ्दा खुशीले चिच्याउने र घट्दा निराश हुँदै देखिए। कार्यालय समयमै सरकारी स्रोत र साधनलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै शेयर कारोबार गरिरहेको पाइएको छ।
यसै आधारमा, अख्तियारले सिंहदरबारभित्र शेयर कारोबारलाई निरुत्साहित गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको छ। प्राविधिक टोलीसँग छलफल गर्दै सिंहदरबारभित्र शेयर कारोबार निषेध गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ। अन्य सरकारी कार्यालयहरूमा पनि यो समस्या देखापरिरहेको छ, जसले सेवाग्राहीलाई असुविधा पुर्याइरहेको छ।