काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार भारी गिरावटसहित बन्द भएको छ। नेप्से परिसूचक आज ४७.९३ अंकले घटेर २,९५४.१४ विन्दुमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा १.५९ प्रतिशतको गिरावट हो।
हिजो भने नेप्से ३०.७६ अंकले बढ्दै ३ हजारको मनोवैज्ञानिक बिन्दु पार गरेको थियो। आज बजार घटेसँगै कारोबार रकम पनि घटेको देखिएको छ। आज ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
हिजो ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर कारोबार हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज म्युचुअल फन्ड र अन्य समूह बाहेकका सबै समूहका उपसूचक राताम्य भएका छन्। सबैभन्दा बढी माइक्रोफाइनान्स समूह ३.२८ प्रतिशतले घटेको छ भने विकास बैंक समूह ३.२७, फाइनान्स समूह २.७० र होटल तथा पर्यटन समूह २.१० प्रतिशतले घटेका छन्।
बजार ओरालो लागेपनि आज सान्भी इनर्जी र ट्रेड टावरका सेयरमा सकारात्मक सर्किट लागेको छ।