काठमाडौं । धितोपत्र बजारमा प्रवेशको तयारी गरिरहेका एक दर्जनभन्दा बढी कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीबाट हटाएको छ।
बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि प्रतीक्षा सूचीमा रहेका १४ वटा कम्पनीलाई हटाएको हो। सूची सफाइ अभियान अन्तर्गत गरिएको निर्णयले विशेषगरी जलविद्युत् क्षेत्रमा क्रियाशील कम्पनीहरूलाई ठूलो प्रभाव पारेको छ।
सूचीबाट हटाइएका कम्पनीहरूमा औषधि, पर्यटन, सञ्चार तथा हवाई सेवा क्षेत्रका कम्पनीहरू समेत छन्।
बोर्डका एक उच्च अधिकारीका अनुसार विद्युत् खरिद सम्झौता (पीपीए) नगरेका, तथा कम्पनीको वित्तीय अवस्था कमजोर (नेटवर्थ ९० रुपैयाँभन्दा कम) देखिएकाले ती कम्पनीहरूको प्रस्ताव सूचीबाट हटाइएको हो।
तर, सूचीबाट हटाइएकाले कम्पनीहरूको आईपीओ निष्कासनको सम्भावना पूरै बन्द भएको भने होइन। आवश्यक मापदण्ड पूरा गरेपछि ती कम्पनीहरूले पुनः आवेदन दिन सक्नेछन्।
सूचीबाट हटाइएका जलविद्युत् कम्पनीहरूमा लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाईड्रोपावर, युनिक हाईड्रोपावर, बेनी हाईड्रो, पुवाखोला वान हाईड्रो, सानिमा हाईड्रो, रिचेट हाईड्रोपावर र झापा इनर्जी रहेका छन्।
त्यस्तै, अन्य क्षेत्रका हटाइएका कम्पनीहरूमा एकर्ड फर्मास्युटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिङ, प्रभु हेलिकप्टर र कान्तिपुर टिभी परेका छन्।