काठमाडौं - फागु पूर्णिमा अर्थात् होली आज नेपालका पहाडी भेगमा उल्लासपूर्वक मनाइँदैछ। तराई क्षेत्रमा भने यो पर्व भोलि मनाउने परम्परा छ। पछिल्लो समय पहाडी क्षेत्रबाट तराई झरेका मानिसहरूले भने आजै होली मनाउने प्रचलन बढ्दै गएको छ।
होलीको मुख्य विशेषता आफन्तहरूबीच रङ र पानी खेल्दै खुसी साट्ने परम्परा हो। काठमाडौं उपत्यकाको वसन्तपुरमा नेपाली तथा विदेशीहरू सामूहिक रूपमा होली खेल्ने गर्दछन्। रङ अबिर दल्दै, नाचगान गर्दै बूढापाका, युवा तथा बालबालिका सबै उमंगका साथ सहभागी हुन्छन्।
यस पर्वको ऐतिहासिक पृष्ठभूमि कृष्ण र राधासँग जोडिएको छ। किंवदन्तीअनुसार, एकदिन कृष्णले राधालाई झुक्याएर उनको अनुहारमा रङ दलेका थिए, जसले रमाइलो माहोल सिर्जना गर्यो। त्यही परम्परा विस्तार हुँदै होली पर्वका रूपमा विकसित भएको मानिन्छ। अर्को धार्मिक कथा भगवान विष्णुका भक्त प्रह्लादसँग सम्बन्धित छ, जसमा सत्यको विजय र असत्यको नाशको उत्सवस्वरूप होली मनाइन्छ।
समाजमा एकता र समानता प्रवर्द्धन गर्ने यस पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन काठमाडौं जिल्ला प्रहरीले सुरक्षा व्यवस्थालाई बलियो बनाएको छ।