तीनकुने जग्गाको मुआब्जा अघि बढाउन बालेनको सरकारलाई ध्यानाकर्षण

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले लामो समयदेखि रोकिएको तीनकुने क्षेत्रको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबारदेखि सुरु भएको कोटेश्वर महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहले मुआब्जा प्रक्रिया लामो समयदेखि अलपत्र रहेको भन्दै चिन्ता व्यक्त गरे। दुई तिहाइको सरकार हुँदा पनि समस्या समाधान हुन नसकेको बताउँदै उनले स्थानीयलाई नेताहरूको आश्वासनमा नपर्न सुझाव दिए।

“पचास वर्षदेखि जग्गा कब्जामा छ, तर सरकारबाट आश्वासन मात्रै पाइरहेका छौं। कुनै नेताले घर-घरमा आएर मुआब्जा प्रक्रिया अघि बढेको भन्छन् भने विश्वास नगर्नुहोस्,” शाहले भने।

उनले अहिले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग आवश्यक स्रोत र साधन उपलब्ध भए पनि प्रक्रिया अघि नबढेकोप्रति आलोचना गरे। “अहिले पनि समाधान नभए, यो समस्या कहिल्यै समाधान हुने छैन,” उनले थपे।

त्यसैगरी, शाहले कोटेश्वर महोत्सवमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै बिक्री वितरण गर्न स्थानीयलाई आग्रह गरे। दुई दिनसम्म चल्ने यो महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया