काठमाडौं। सरकारले बीमा प्राधिकरणको नयाँ अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको नियुक्तिलाई मंजुरी दिएको हो।
अध्यक्ष पदका लागि गठित सिफारिस समितिले शरद ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम सिफारिस गरेको थियो। ओझाले ११ प्रतिस्पर्धीलाई पछि पार्दै यो पद हात पारेका हुन्।
शरद ओझा एक अनुभवी आर्थिक पत्रकार हुन्। उनले विभिन्न सञ्चारमाध्यममा आर्थिक विषयमा लेखन र विश्लेषण गरेका छन्। साथै, उनी अध्यापन र वकालतमा पनि सक्रिय छन्।
यसअघि बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए। उनको निलम्बनपछि प्राधिकरणको अध्यक्ष पद खाली रहेको थियो।