आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले मतपत्र छपाइको काम तीव्र गतिमा गरिरहेको जनाएको छ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार दैनिक १२ देखि १५ लाखसम्म मतपत्र छापिँदै आएको छ र आइतबारसम्म सम्पूर्ण छपाइ सकिने लक्ष्य राखिएको छ। हालसम्म दुई करोड तीन लाखमध्ये एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने बाँकी करिब ३० लाख मतपत्र छापिएसँगै काम पूरा हुनेछ।
उम्मेदवार संख्या धेरै भएका जिल्लामा ठूलो आकारको र थोरै उम्मेदवार भएका जिल्लामा सानो आकारको मतपत्र छाप्नुपर्ने भएकाले केही ढिलाइ भएको बताइएको छ। छपाइ सम्पन्न भएका जिल्लामा भने नेपाली सेनामार्फत मतपत्र ढुवानी सुरु गरिएको केन्द्रले जनाएको छ।
यसैबीच, समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी जिल्ला–जिल्लामा पठाउने काम अघि बढिसकेको छ। ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भई ढुवानी भइरहेको छ भने कर्णाली प्रदेशसहित विभिन्न दुर्गम जिल्लामा मतपत्र पुगिसकेको जानकारी दिइएको छ।
निर्वाचन नजिकिँदै जाँदा मतपत्र छपाइ र ढुवानी कार्यलाई तीव्रता दिइएको सम्बन्धित निकायले जनाएको छ।