मानुषी लघुवित्तको आईपीओ निष्कासनको मिति तय


काठमाडौं– मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । मानुषीले तीन लाख ९३ हजार ७५० कित्ता आईपिओ यही साउन २७ गतेदेखि निष्काशन गर्ने भएको छ । सो लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न गत साता नै धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणले पाउनेछन् ।

मानुषी लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । सो आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन बन्द हुने आज प्रकाशित सूचनामा जनाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । विद्यमान शेयर बाँडफाँड सम्बन्धी व्यवस्था र लगानीकर्ताहरुकोे आवेदन दिने चापका कारण न्यूनतम् १० कित्ता भन्दा बढि भर्नुको कुनै अर्थ भने छैन ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


उक्त आईपिओ मेरो शेयर वेभसाईट तथा एप र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिनेछ । त्यस्तै एनआईसी एसिया बैंकको खातावालहरुले सो बैंकको मोबाइल एपबाट सिधै भर्न सकिनेछ ।
केयर रेटिङ्ग नेपालले मानुषी लघुवित्तको आईपिओलाई केयर एनपी बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । बी प्लस भनेको औसतभन्दा राम्रो भन्ने देखाउँछ ।
 

प्रतिक्रिया