तरकारीको मूल्य अचाक्ली बढ्यो

काठमाडौं–बजारमा तरकारीको मूल्य अचाक्ली बढेको छ । हरेक तरकारीको मूल्य एक सय रुपैयाँ भन्दा बढी छ । काठमाडौं उपत्यकाको खुल्ला बजारमा बोडीको मूल्य किलोको दुई सय रुपैयाँ, काउली किलोको एक सय ५०, टमटर एकसय ३०, रायो साग एक सय ५०, भिण्डी एक सय४०, कांक्रो एक सय ३० रुपैयाँ पुगेको छ । त्यसैगगरी, घिरौंला एक सय,लौका ६० रुपैयाँ किलो रहेको छ ।


तरकारीको उत्पादन कम भएकाले मूल्य बढेको बताएका छन् । मूल्य बढेपछि उपभोक्तालाई घर चलाउन हम्मे परेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरको दामनलगायत क्षेत्रमा उत्पादन भएको तरकारी उपत्यकाको कालिमाटी तरकारी बजार, टुकुचा, बल्खु, कुलेश्वर, बानेश्वर, बालाजु, लगनखेलगायतका खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुग्दा चौगुणासम्म महँगो हुने गरेको छ ।
मूल्यवृद्धि नियन्त्रणमा सरकारी प्रयास फितलो हुँदा व्यापारीले मनपरी मूल्य बढाइरहेका छन् । एकतर्फ उत्पादन घटेको बहानामा तरकारी महँगिएको छ भने अर्कोतर्फ व्यापारीले मनोमानी ढंगले भाउ तोक्दा उपभोक्ता मारमा छन् ।


दैनिक उपभोग्य वस्तुसँगै तरकारीको भाउ बढेपछि आम्दानीले घरव्यवहार चलाउनै हम्मे परेको बागबजार बस्दै आएकी सुनिता परियारले बताइन् । ‘तरकारीको भाउ धान्नै नसक्ने भयो,’ टेलरिङ व्यवसाय गर्ने परियारले भनिन्, ‘अब बालबच्चालाई हरियो तरकारी कसरी खुवाउने ?
निम्न आम्दानी भएका, ज्यालादारी काम गर्ने, विद्यार्थी मारमा परेका छन् । व्यापारीले अधिक नाफा राख्ने गरेको काभ्रेका किसान प्रमोद बस्नेतले बताए । ‘हामीसँग सस्तोमा लगेर महँगोमा बेच्छन्,’ उनले भने,‘बीचका व्यापारीले धेरै नाफा खाए । किसान र उपभोक्ता सबै ठगिएका छन् ।’
माग अनुपातमा तरकारी बजारमा नआएकाले महँगो भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।‘चाहिएजति तरकारी नआउँदा भाउ बढेको हो,’ महासंघका अध्यक्ष खोमप्रसाद घिमिरले भने, ‘तरकारी बारीमा उत्पादन घट्दा बजारमा असर प¥यो ।’ 
माग बढेपछि तरकारीको मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  


व्यापारीले विभिन्न बहानामा चर्को मूल्य असुल्दा तरकारी बजार असन्तुलित भएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । दैनिक उपभोग्य खाद्यवस्तु, मासुलगायत क्षेत्रमा अनुगमन गरे पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तरकारी बजार अनुगमन गरेको छैन ।

प्रतिक्रिया