काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गर्नुभएको छ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यतर्फ अघि बढिरहेको उल्लेख गर्दै यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्य आवश्यक रहेको बताउँदै न्यूजिल्याण्डसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभएको थियो। यो कुरा उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
राष्ट्रपति पौडेलले नेपाल र न्यूजिल्याण्डले अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा धारणा बनाउँदै सहकार्य गर्दै आएको उल्लेख गर्दै विकासको यात्रालाई दिगो बनाउन न्यूजिल्याण्डबाट व्यापार, लगानी र विकासमा सहयोगको अपेक्षा रहेको बताउनुभयो।
उहाँले जलवायु परिवर्तनको संकटले दुवै देशलाई असर गरेको बताउँदै हिमालय क्षेत्रको संरक्षण र त्यहाँको जनजीवन जोगाउनका लागि संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलले न्यूजिल्याण्डका पर्यटकहरूले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रुचाएको, र नेपाली विद्यार्थीहरूका लागि न्यूजिल्याण्ड उच्च शिक्षाको आकर्षक गन्तव्य बनेको उल्लेख गर्नुभयो। उहाँले त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको जनस्तरीय सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गर्नुभयो।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र न्यूजिल्याण्डबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको पहिलो सफल आरोहणमार्फत सम्बन्ध प्रगाढ बनाउन योगदान दिएको स्मरण गर्दै राष्ट्रपति पौडेलले उक्त आरोहणको ७०औं वार्षिकोत्सवमा “सगरमाथा–७०” को रुपमा संयुक्त रूपमा मनाइएकोमा सन्तोष व्यक्त गर्नुभयो।
उहाँले सर एडमन्ड हिलारीले स्थापना गर्नुभएको हिमालयन ट्रस्टले जनस्तरीय सम्बन्ध विस्तारमा पुर्याएको सहयोगको प्रशंसा गर्दै उक्त संस्थाले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएको उल्लेख गर्नुभयो।
त्यस अवसरमा उप–प्रधानमन्त्री पिटर्सले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै साना राष्ट्रहरूको भूमिकालाई पनि अन्तर्राष्ट्रिय सम्बन्धमा महत्त्वपूर्ण मान्ने धारणा राख्नुभयो।
उहाँले नेपाल न्यूजिल्याण्डका जनताको लागि रमणीय गन्तव्य रहेको बताउँदै नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताउनुभयो। साथै, नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति बढाएर शिक्षा र विकासको सम्बन्ध अझ मजबुत बनाउने इच्छा व्यक्त गर्नुभयो।
जलवायु परिवर्तनको असरप्रति आफूहरू सचेत रहेको उल्लेख गर्दै उनले यस्तो समस्याको समाधानका लागि सबै राष्ट्रहरूको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।