मध्य असारमै मलको हाहाकार

काठमाडौं — सरकारी तथ्यांकअनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा करिब ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दात छ। तर, धान रोपाइँको मौसम सुरु भइसक्दा पनि किसानहरू मलको अभाव झेलिरहेका छन्।

अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालका अनुसार अधिकांश जिल्लामा एक परिवारले ८–१० किलो मात्र अनुदानको मल पाएका छन्। बिचौलियाले यो अभावको फाइदा उठाउँदै युरिया मलको बोरा २ हजार ५०० रुपैयाँसम्ममा बिक्री गरिरहेको गुनासो छ।

कृषि मन्त्रालयका अनुसार साल्टसँग ११ हजार ५८३ टन र कृषि सामग्री कम्पनीसँग ४९ हजार १२९ टन मल मौज्दात छ। तर, वितरण प्रक्रियामा समस्या हुँदा किसानसम्म मल समयमा पुगेको छैन। सरकारले चालु आर्थिक वर्षमा ५ लाख ५० हजार टन मल किन्न २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको भए पनि हालसम्म ३ लाख ६३ हजार टन मात्र आयात भएको छ।

साल्ट ट्रेडिङका सह–महाप्रबन्धक कुमार राजभण्डारीले धानबालीका लागि मल अभाव नहुने दाबी गरे पनि किसानले भने व्यवहारमा राहत नपाएको बताएका छन्। मन्त्री रामनाथ अधिकारीले कोलकत्ताबाट थप मल आइरहेको भन्दै भोलिदेखि वितरण सुरु हुने र हाहाकार हुन नदिने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय