केरुङ र तातोपानीको विकल्पमा कोरला नाका, दुई हप्तामै डेढ अर्ब राजस्व संकलन


काठमाडौं – चीनबाट सामान आायत गर्न तातोपानी र केरुङ नाकामा पटक पटक अबरोध भए पछि त्यसको विकल्पमा मुस्ताङको कोरला नाका प्रयोगमा ल्याइएको छ । कोरला नाका संचालनमा आएको दुई हप्तामै मुस्ताङ भन्सारले डेढ अर्ब राजस्व संकलन गरेको छ । मुस्ताङको लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले सञ्चालनमा आएको दुई हप्तामै १ अर्ब ३७ करोड ७० लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।


गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ ३० देखि पूर्ण रूपमा सञ्चालनमा आएको दुई हप्तामै राजस्व सङ्कलनमा निकै सुधार आएको कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए । 


उनले दुई हप्ताको अवधिमा ७९१ मध्ये ७६९ वटा विद्युतीय सवारी साधन (ईभी)को भन्सार जाँच पास सम्पन्न गरी गन्तव्यतर्फ पठाइसकेको बताए । यसैगरी यहाँबाट भित्रिएका ३११ वटा माल वाहक ढुवानी कन्टेनरमध्ये २४६ वटा माल वाहक कन्टेनरको भन्सार जाँच पास सम्पन्न भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्काले बताए । 


भन्सारमा चीनबाट मालवस्तु ढुवानी गरी नेपाल भित्रिएका ६५ वटा मालवाहक कन्टेनरको भन्सार जाँच पास हुन बाँकी रहेको छ । ठूलो परिमाणमा मालवस्तु आयात हुँदा यस नाकाबाट हालसम्म पाँचवटा मालवस्तु कन्टेनर मात्र चीनतर्फ निकासी भएका छन् ।


भन्सार प्रमुख खड्काले नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको जानकारी दिए । चीनबाट मालसामान आउने क्रम जारी रहेकाले विभागले दसैँको टीकाको दिनबाहेक अन्य समयमा भन्सारको कार्यसम्पादन जारी रहने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय