तीन सर्किट ब्रेकपछि नेप्से बन्द, बजार ६% ले ओरालो

काठमाडौं । भदौ २३ र २४ गतेका हिंसात्मक घटनापछि खुलेको सेयर बजारमा बिहीबार भारी गिरावट आयो । लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि कारोबार स्थगित गर्नुपरेको हो । दिनभर बजार ६ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक १६० अंकले घटेर २५११ मा झर्‍यो ।

बजार खुलेको २ मिनेटमै परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटको स्थगनपछि पुनः खुलेको बजार थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११:२३ बजे दोस्रो सर्किट ब्रेक लाग्यो । दोस्रो रोकावटपछि ४० मिनेटको विराम दिएर १२:०४ बजे कारोबार खुलेको थियो । तर फेरि १ प्रतिशत घट्दा (कुल ६ प्रतिशत) तेस्रो सर्किट ब्रेक लागेर कारोबार बन्द गरियो । यस दिन जम्मा करिब ४ मिनेट मात्रै कारोबार भयो र कुल ७२ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

सबै समूहमा गिरावट देखियो । व्यापार समूह ९.३४ प्रतिशतले सबैभन्दा धेरै घट्यो । त्यसपछि अन्य समूह ७.४८, होटल तथा पर्यटन ७.२४, लगानी ७.१८, जीवन बीमा ६.६६, बैंकिङ ५.५२, हाइड्रोपावर ५.४०, विकास बैंक ५.१३, निर्जीवन बीमा ५.४२, उत्पादन तथा प्रशोधन ५.०२, फाइनान्स ४.५२ र माइक्रोफाइनान्स ४.०८ प्रतिशतले घटे ।

सूचीकृत १६ कम्पनीको मूल्य १० प्रतिशतले तल झर्‍यो । यीमध्ये नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, उन्नति सहकार्य लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिनर्जी पावर र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स प्रमुख हुन् । यस्तै, सप्तकोशी विकास बैंक, चन्द्रागिरि हिल्स, शिखर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, नेसनल हाइड्रोपावर र एनएलजी इन्स्योरेन्सको मूल्य पनि करिब १० प्रतिशतले घट्यो ।

युनाइटेड अजोड इन्स्योरेन्स, बेस्ट फाइनान्स, ओरियन्टल होटल, आँखुखोला जलविद्युत्, विशाल बजार कम्पनी, सीईडीबी होल्डिङ्स, सिटिजन लाइफ इन्स्योरेन्स, अपी पावर, विकास हाइड्रोपावर, बलेफी हाइड्रोपावर, सान्भी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, बुटवल पावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले खस्किएको छ ।

प्रतिक्रिया