काठमाडौं - चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सन्तोषजनक देखिएको छैन।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, साउनमा आयात र निर्यात दुवै घटेको छ, जसका कारण व्यापार घाटा बढ्न पुगेको छ। साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात भएको छ भने १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। आयातमा ०.६७ प्रतिशतको कमी आएको भए पनि निर्यातमा ९.६३ प्रतिशतको ठूलो गिरावट आएको छ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा आयात १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको थियो भने निर्यात १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको भएको थियो। आयातमा कमी आए पनि निर्यात उच्च दरले घट्दा चालु आवको पहिलो महिना साउनमा व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको साउन महिनाको तुलनामा ०.३८ प्रतिशतले बढी हो।
साउन महिनामा कुल वैदेशिक व्यापारको आकार १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा १.५२ प्रतिशतले घटेको हो। यस अवधिमा, वैदेशिक व्यापारमा निर्यातको हिस्सा ०.८६ प्रतिशत र आयातको हिस्सा ९१.३० प्रतिशत रहेको छ।