धान आयातमा अर्बौं, तर किसानको उत्पादन बिक्री नहुँदा संकट

काठमाडौं, असार ४ - नेपाल सरकारले दुई वर्षभित्र देशलाई धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ। तर यसबीच किसानहरूले उत्पादन गरेको १ लाख ५० हजार टन चैते धान बेच्न नसक्दा गम्भीर संकटको सामना गरिरहेका छन्। अर्कोतिर, देशले अहिले सम्म ३५ अर्ब रुपैयाँको धान-चामल आयात गरिसकेको छ।

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २,८०० रुपैयाँ तोकेको छ। तर किसानहरूले बजारमा मात्र १,४०० रुपैयाँ प्रतिक्विन्टल पाएका छन्। "सरकारले आफैंले खरिद गर्ने बाचा गरेको थियो, तर अहिलेसम्म कुनै ठोस कार्यवाही भएन," कृषक नेता उद्धव अधिकारीले बताए।

चालु आर्थिक वर्षको १० महिनामा नै देशले भारतबाट २० करोड किलो चामल र ५० करोड किलो धान आयात गरिसकेको छ। यसबीच नेपाल किसान महासंघले सरकारी उदासीनताको विरोधमा प्रदर्शन गरेको छ। "हाम्रो श्रम र पसिनालाई कदर गर्नु पर्छ," महासंघका प्रतिनिधिले जोड दिए।

कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग मन्त्री दामोदर भण्डारीबीच भएको बैठकमा यस समस्याको समाधान खोजिएको छ। "खाद्य निगमले तुरुन्त किसानको धान खरिद गर्ने व्यवस्था गर्नुपर्छ," कृषि मन्त्रालयका प्रवक्ता नवराज तिमल्सिनाले बताए। Today Kantipur Daily

प्रतिक्रिया