नेपाल आयल निगमको चार अर्ब ८३ करोड नाफा, सेयरधनीलाई १०% लाभांश

नेपाल आयल निगम लिमिटेड आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ८३ करोड रुपैयाँ संचित नाफामा गएको छ। शुक्रबार सम्पन्न निगमको ४३औँ साधारणसभाले आर्थिक प्रतिवेदन पारित गर्दै संचित नाफालाई पनि स्वीकृति दिएको हो।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सो आवमा तीन खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको थियो भने तीन खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँको बिक्री गरिएको थियो।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा निगमले नौ अर्ब ५५ करोड रुपैयाँ मुनाफा गरेको थियो। साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णयसमेत गरेको छ।

चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको निगमले लाभांशबापत एक अर्ब १० करोड रुपैयाँ वितरण गर्ने नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए।

गत आवमा निगमले एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको कर सरकारलाई बुझाएको पनि जानकारी दिइएको छ।

प्रतिक्रिया