काठमाडौंँ - कालिञ्चोक दर्शनले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्थानीय बासिन्दाका लागि जारी गरेको साधारण सेयर पुस २० गते बुधबार बाँडफाँडको तयारी गरेको छ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले बुधबार बाँडफाँड गर्नेगरी तयारी थालेको नोटबजारलाई जानकारी दिएको छ । बुधबार बाँडफाँड गर्न तयारीका साथ क्यापिटलले सोमबार आईपीओको प्रि–अलटमेन्ट सम्पन्न गरी स्वीकृतिका लागि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पेश गरेको हो ।
सेयर बाँडफाँडका लागि बोर्डबाट मंगलबार स्वीकृति पाए बुधबार नै बाँडफाँड हुने क्यापिटलले जानकारी दिएको छ । यद्यपी बोर्डको स्वीकृति पश्चात मात्र समय र स्थानको टुङ्गो लाग्नेछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुका र स्थानीय बासिन्दाका लागि लागि मंसिर १४ गते देखि २८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई पहिलो पटक जारी भएको कालिन्चोक दर्शन कम्पनीमा ६ हजार २०० बढी कामदारहरुबाट १० करोड ३७ लाख मूल्यको १० लाख ३७ हजार कित्ता खरिदका लागि आवेदन दिएका छन् ।कम्पनीले मंसिर १४ देखि २८ गतेसम्म वैदेशिक रोजगारीमा जाने कामदारका लागि १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।
यस्तै कम्पनीले जारी पुँजी ६० करोडको २ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो । १५ हजार ४०० बढी स्थानीय बासिन्दाहरुले कम्पनीो सेयर खरिदका लागि ६ लाख ३४ हजार कित्ता सेयर माग गरेका छन् ।वैदेशिक रोजगारीमा रहेर कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिएका सबैले कम्पनीको न्यूनतम १० कित्ता सेयर पाउनेछन् । थप ४ हजार ५०० बढीले अधिकतम २० कित्ता हात पार्नेछन् ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ यसमा ६ हजार २०० जना बढी आवेदकका हिसाबले सबैलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँड गरेर बाँकी रहेको सेयर संख्या २० कित्ताभन्दा बढी माग गर्नेमध्येबाट गोलाप्रथाबाट बाँडफाँड हुने देखिन्छ । १० कित्ताको आवेदन गर्ने संख्या धेरै भएको खण्डमा भने कम्पनीको आईपीओमा अधिकतम ३० कित्तासम्म पाउने अवस्था पनि रहन्छ । यद्यपी विदेशमा रहेकाले धेरै कित्ता माग गरेकाले यो सम्भावन ज्यादै न्यून देखिन्छ ।
यस्तै स्थानीय बासिन्दातर्फ भने १२ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् । कम्पनीले स्थानीयतर्फ १ लाख २० हजार कित्ता सेयर खुला गरेकाले कुल आवेदक १५ हजारलाई बाँडफाँड गर्न अपुग हुँदा यसमा गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ ।