खडेरीले धान उत्पादनमा पाँच लाख टन कमी हुने प्रक्षेपण

काठमाडौं । तराई क्षेत्रमा धान रोपाइँको मुख्य समयमा खडेरी परेपछि उत्पादनमा ठूलो कमी आउने अनुमान गरिएको छ। पर्याप्त वर्षा नहुँदा समयमै धान खेती हुन नसकेकाले यस वर्ष उत्पादन घट्ने देखिएको हो।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार चालु आर्थिक वर्षमा करिब पाँच लाख २५ हजार टन धान उत्पादन घट्ने सम्भावना छ। गत वर्ष ५९ लाख ५५ हजार टन उत्पादन भएकोमा यस वर्ष करिब ५४ लाख २९ हजार टन मात्रै उत्पादन हुने अनुमान गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले हालसम्म देशभर करिब ९४ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको बताए। उनका अनुसार मधेस प्रदेशमा सुख्खा परिस्थितिका कारण रोपाइँ सुस्त भएको छ भने अन्य प्रदेशमा लगभग रोपाइँ सकिएको छ।

भदौ १ गतेसम्म १२ लाख ९५ हजार ८८७ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ भएको छ, जुन कुल अनुमानको ९४.१५ प्रतिशत हो। यो गत वर्षको तुलनामा करिब एक लाख २५ हजार हेक्टरले कम हो। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ९७ देखि ९९ प्रतिशतसम्म रोपाइँ सम्पन्न भए पनि मधेसमा ८६ प्रतिशत मात्र रोपाइँ भएको छ। यही कारण मधेस प्रदेशलाई सरकारले सुख्खा संकट क्षेत्र घोषणा गरेको छ।

नेपाललाई धानमा आत्मनिर्भर बनाउने सरकारी योजना मौसमले साथ नदिँदा चुनौतीपूर्ण देखिएको छ। मुलुकलाई वार्षिक करिब ७० लाख टन धान आवश्यक भए पनि यो वर्ष करिब १० लाख टन अपुग हुने प्रक्षेपण गरिएको छ। यसै कारण चामल, धानको बिउ र कनिकासमेत आयात गर्नुपर्ने अवस्था आउने कृषि विज्ञहरूको भनाइ छ।

विशेषज्ञहरूका अनुसार आत्मनिर्भरता हासिल गर्न सरकारले चैते धानको खेती विस्तार, वर्षे धानको उत्पादकत्व वृद्धि, गुणस्तरीय मलखाद र बिउको उपलब्धता तथा अनुसन्धानमार्फत प्राप्त प्रविधि किसानसम्म पु-याउनुपर्ने देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय