काठमाडौं - आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले माघ ९ गतेदेखि ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ नामक ऋणपत्र निष्काशन खुला गरेको छ। ७ वर्ष अवधिको यो ऋणपत्रले वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ।
फाइनान्सले एक हजार रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र जारी गर्दैछ। यसमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट हुनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणलाई प्रदान गरिनेछ। सर्वसाधारणको लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आवेदन माघ १३ गतेसम्म खुला हुनेछ तर आवश्यकताअनुसार माघ २३ गतेसम्म लम्ब्याउन सकिनेछ।
यस ऋणपत्रको बिक्री तथा निष्काशन प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयमार्फत सि आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
ऋणपत्रको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले फाइनान्सलाई ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले मध्यम जोखिमको सङ्केत गर्दछ। ऋणपत्रको ब्याज रकम कर कट्टा गरी प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्त भएपछि भुक्तानी गरिनेछ।