काठमाडौं — चालु आर्थिक वर्ष २०८२–८३ को आठ महिना अर्थात् फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय का अनुसार यो रकम कुल गार्हस्थ उत्पादन (GDP) को ४७.१३ प्रतिशत बराबर हो।
आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण आठ महिनामै २ खर्ब ४ अर्ब २४ करोडले बढेको हो। विदेशी विनिमय दरमा भएको उतारचढावका कारण मात्र बाह्य ऋणमा ९७ अर्ब ९८ करोड रुपैयाँ बराबरको दायित्व थपिएको छ।
कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने वैदेशिक ऋण १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ रहेको छ। सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म ५०.४४ प्रतिशत अर्थात् ३ खर्ब ४६ करोड ७२ लाख रुपैयाँ उठाइसकेको छ।
त्यस्तै, चालु आवमा ऋणको साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यसमध्ये १ खर्ब ९४ अर्ब १९ करोड रुपैयाँ साँवा र ४८ अर्ब ६ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।