मोरङको सुनवर्षीमा अम्बा खान गएको निहुँमा ४ वर्षीया बालिकाको इँटाले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सुनवर्षी नगरपालिका–९ डाँइनियाका ५९ वर्षीय जान मोहमद मन्सुरीलाई प्रहरीले घटनाको १३ औँ दिनमा पक्राउ गरेको हो। उनलाई बुधबार आफ्नै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
सुनवर्षी–९ डाँइनियाका जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको गत साउन ८ गते साँझ हत्या भएको थियो। बालिका सोही दिन अपराह्न ४ बजेदेखि हराएकी थिइन्। अभिभावक तथा स्थानीयले खोजी गर्ने क्रममा राति करिब साढे ७ बजे घरदेखि करिब दुई मिटर टाढाको घन्सीबारीमा हत्या गरेर फालिएको अवस्थामा उनको शव फेला परेको थियो।
शवको निधार र कञ्चटमा गहिरो चोट देखिएको थियो। बालिका घरबाट हराउँदा माथिल्लो कपडा नलगाएको अवस्थामा रहेको र शव भेटिँदा पनि माथिल्लो कपडा नभएको पारिवारिक स्रोतले जनाएको छ।
घटनास्थल र शवको प्रकृति हेर्दा जबर्जस्ती करणी भएको प्रारम्भिक रूपमा नदेखिएपछि प्रहरीले कुटपिट वा अन्य कारणबाट हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो। शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो।
डीएसपी मिश्रका अनुसार पोस्टमार्टम रिपोर्टसँगै प्राविधिक तथा सूक्ष्म अनुसन्धानलाई अघि बढाउँदै जाँदा प्रहरी मन्सुरीसम्म पुगेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानदेखि नै हत्यामा नजिकैको वा चिनजानकै व्यक्ति संलग्न हुनसक्ने अनुमान गरिएको थियो। पारिवारिक रिसइबी तथा अन्य विवादका कोणबाट समेत अनुसन्धान गरिएको उनले बताए।
प्रहरीका अनुसार पक्राउ परेका मन्सुरीले आफ्नो बारीमा रहेको अम्बा खान बालिका आएको भन्दै इँटाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा स्वीकार गरेका छन्। बालिकाको घर र मन्सुरीको घरबीच करिब दुई सय मिटर दूरी रहेको प्रहरीले जनाएको छ।
परिस्थितिजन्य प्रमाण र सोधपुछका क्रममा मन्सुरीको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको एसपी कटवालले बताए। घटनाको थप कारण तथा विस्तृत विवरण अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।
मन्सुरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न बिहीबार मोरङ जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।