काठमाडौं — विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकमूलक आन्दोलन आज चौथो दिनमा प्रवेश गरेको छ। चैत्र २० गतेदेखि सुरु भएको आन्दोलन अन्तर्गत शिक्षकहरुले आज सिठ्ठी फुक्दै विरोध प्रदर्शन गरेका छन्।
सरकारको ध्यानाकर्षण गराउन भन्दै आन्दोलनकारी शिक्षकहरुले राजधानीका विभिन्न स्थानमा र्याली गर्दै सिठ्ठी बजाएर असन्तोष प्रकट गरेका हुन्। उनीहरु शिक्षक र कर्मचारी मैत्री शिक्षा ऐन जारी गरिनुपर्ने मागमा अडिग छन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले अब थप चर्को रुप लिने संकेत दिएको छ। महासंघले शुक्रबार अर्थात् चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल सुरु गर्ने घोषणा गरेको छ।
महासंघले देशभरका सम्पूर्ण विद्यालय बन्द गराउँदै काठमाडौंमा हुने सडक प्रदर्शनमा सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेको छ। आन्दोलनकारीहरुले चार दिनदेखि निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आइरहेका छन्।