काठमाण्डौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ।
हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर १५ डलरले वृद्धि भएको छ।
तर, खाना पकाउने ग्यासको मूल्य यथावत् राखिएको छ। उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको मूल्य नबढाइएको निगमले जनाएको छ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गमा १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज परेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल परेकाछन्।